कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने

काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ ।

चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निःशुल्क कम्पनी दर्ता हुने व्यवस्था ल्याइएकाे बताएका थिए । तर सरकारले १५ जेठमा गरेको घोषणा झण्डै चार महिनापछि सोमबारबाट कार्यान्वयनमा आएको हो ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा यसअघि लाग्दै आएको दस्तुर मिनाहा गरेको हो । उक्त व्यवस्थासँगै अब कम्पनी दर्ता गर्दा र पूँजी वृद्धि गर्दा कुनै शुल्क लाग्ने छैन । संशोधित राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा, दर्ता भइसकेको कम्पनीले पूँजी वृद्धि गर्दा अब कुनै शुल्क लाग्ने छैन ।

कम्पनी रजिष्ट्रार कार्यालयकअनुसार अब विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने गरी कम्पनी स्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर पनि चालु आर्थिक वर्षका लागि पूर्ण छुट दिने निर्णय गरिएको छ । सरकारले युवालाई उद्योग खोल्न प्रोत्साहन गर्न बजेटमा यस्तो व्यवस्था गरेको थियो । नवप्रर्वतनात्मक र सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न युवाहरुलाई कठिन नहोस् भनेर यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

यस्तो व्यवस्थाले आफैं कम्पनी खालेर आफ्नो रुचि र आविष्कारलाई बजारसम्म लैजान मद्धत मिल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कम्पनीको खोरेजी र पूँजी वृद्धि, दर्ता लगायतका सबै दस्तुर खारेज भएका कारण अब सरकारी शुल्क लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *