नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटको सीमा घटाएर २५ हजार रुपैयाँमा झारेको छ। बैंकले बुधबार सूचना जारी गर्दै अनुमतिप्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब(एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबारबापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले झारेको हो।
विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त बेनिफिसियरी लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले बताएको छ।
दुई साताअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले रेमिटेन्स कम्पनीहरुले आफ्ना एजेन्ट र सब एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पुनरवलोकन गर्ने जनाएको थियो। त्यतिबेला यो रकमको सीमा ५० हजारमा झार्ने तयारी राष्ट्र बैंकको रहेको बुझिएको थियो। तर योभन्दा पनि अझ कसिलो गर्दै यसले सीमा २५ हजार रुपैयाँ झारेको छ।