काठमाडौं । हकप्रद निष्काशनको अनुमति माग्दै ४ वटा जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएका छन्। लिबर्टी इनर्जी, आँखुखोला जलविद्युत, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावर, ले हकप्रद सेयर निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन् ।
लिबर्टी इनर्जीले भने चुक्तापुँजी ५० प्रतिशत अर्थात १:०.५ अनुपातमा हकप्रद निष्काशनको अनुमति मागेको छ। बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
त्यसैगरी, आँखुखेला जलविद्युत चुक्तापुँजीको १:१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति मागेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
यसैगरी बरुण हाइड्रोपावर र ङादी पावरले चुक्तापुँजीको १:१ अर्थात १०० प्रतिशत हकप्रदको प्रक्रिया अगाडि बढाएका छन्। बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता र ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख १२ हजार ७९२.२३ कित्ता हकप्रद बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
हकप्रद बिक्री प्रबन्धमा बरुण हाइड्रोपावरको आरबीबी मर्चेन्ट बैंकिङ र ङादी ग्रुप पावरको सिद्धार्थ क्यापिटल रहेका छन् ।




