अब बैंकमा जागिर खान पनि लाइसेन्स अनिवार्य

काठमाडौं । अब बैंकमा जागिर खान पनि लाइसेन्स अनिवार्य हुने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामा नयाँ कर्मचारी राख्नुअघि लाइसेन्स लिएको हुनुपर्ने व्यवस्था गर्न लागेको हो।

‘बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकाले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिनेछ । नेसनल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेसन कोर्स पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिनेछ।’- मौद्रिक नीति भनिएको छ ।

बैंकहरुले पनि अहिलेसम्म कर्मचारी विनियमावलीअनुकूल कर्मचारी भर्ना गर्दै आइराखेका छन् । तर, अब बैंकमा जागिर खान पनि पहिला लाइसेन्सको परीक्षा पास गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।

अहिले चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, शिक्षकले लाइसेन्स लिएपछि मात्र काम गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा पनि त्यस्तै व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

बैंकिङ प्रणालीको स्थायित्वका लागि जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरी आवश्यक विधि निर्माण गर्ने राष्ट्र बैंकको तयारी छ ।

बैंकिङ क्षेत्रलाई थप प्रतिस्पर्धी र सबल बनाउन यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *