काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको डेढ अर्ब रुपैयाँभन्दा धेरै पैसा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड ४० लाख, विकास बैंकहरुमा २६ करोड ७० लाख र फाइनान्स कम्पनीहरुमा ८ करोड ९० लाख गरी कुल १ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो।
उक्त निक्षेप २०८० असोज २ गतेदेखि २०८१ असोज ३ गतेसम्म ३६७ दिन अवधिको लागि राख्न लागिएको हो । उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २४ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ ।







