प्रशिक्षकलाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र नियम बिपरित हो : उपाध्यक्ष पंकज

अखिल नेपाल फुटबल संघ (एन्फा)का बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रशिक्षक (अब्दुल्लाह अल्मुताईरीं)लाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र फिफा नियमको बिपरित भएको प्रतिक्रिया दिएका छन् ।

माल्दिभ्स स्थित मालेमा नेपाल र भारतले फाइनल खेल खेल्नु अघि आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाली प्रशिक्षक अब्दुल्लाहलाई प्रतियोगिता नियमावली विपरित टर्च लाईन (टेक्निकल क्षेत्र) मा उभिन प्रतिबन्ध लगाएको थियो ।

प्रशिक्षक अब्दुल्लाह स्वयमले पत्रकार सम्मेलन गरि यस विषयमा बिरोध जनाउँदा एन्फाले भने अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

यसैबीच एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले भने टेक्निकल क्षेत्रमा प्रशिक्षकलाई जान प्रतिबन्ध लगाउनु खेल भावना र फिफा नियम बिपरित भएको बताएका छन् ।

‘नेपालको मुख्य प्रशिक्षकलाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र फिफा नियमको बिपरित हो ।’ पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह राजिनामा प्रकरणमा मुछिएका बरिष्ठ उपाध्यक्ष नेम्बाङले ट्विट गरेका छन् ।

मालेमा जारी १३ औं संस्करणको साफ च्याम्पिनयसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ । तर त्यस अघि आयोजक साफले प्रतियोगिता नियमावली विपरित प्रशिक्षक अब्दुल्लाहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यससँगै प्रशिक्षक अब्दुल्लाहले फाइनल खेल र आफ्नो अन्तिम खेलमा नेपाली टोलीका टर्चलाईन गुमाउने भएका छन् । यस अघि बंगलादेशविरुद्ध खेल पछि बोल्दै अब्दुल्लाहले नेपाली टोलीबाट अलग हुने बताईसकेका छन् ।

यता, प्रशिक्षक अब्दुल्लाहले यो साफको एकपक्षीय निर्णय भएको र यसकोविरुद्ध फिफा, एएफसी र कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्टस् (कास) जाने बताएका छन् ।

यस अघि प्रशिक्षक बिबादमा मुछिएका उपाध्यक्ष पंकजले साफको यस्तो निर्णय जतिनै निन्दा गरेपनि कम हुने बताएका छन् । ‘साफको यो निर्णयको जतिनै निन्दा गरेपनि कम हुन्छ ।’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *