

कठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ यसै साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भोलि अर्थात भदौ १३ गते प्रिअलटमेन्ट गर्ने र शुक्रबारसम्म बाँडफाँट गर्ने जनाएको हो ।
आईपीओमा १३ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ८८ हजार ११५ जनाले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो ।
जसमा ७१ हजार २२२ जनाले मात्र १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १३ लाख १६ हजार भन्दा बढीको हात रित्तो हुने भएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको थियो । जसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन खुला गरेको थियो । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ ।
५ प्रतिशत अर्थात ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

अर्थ सन्जाल