काठमाडौं । नेपाल बैकर्स संघले बैंकको ब्याजदर अझै बढ्न सक्ने संकेत गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नै ब्याजदर बढ्दै गएको भन्दै नेपालमा पनि बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको हो ।
सबै देशमा ब्याजजदर बढ्दा नेपालमा भने घटिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । उनले भारतको ब्याजदर औसत ६.५ को हारहारीमा रहेको बताए ।
अध्यक्ष केसीले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा गरिएको संशोधनले बजार चलायमान बनाउन सहयोग गर्ने बताए ।
‘बैंक वित्तीय संस्थाले विभिन्न मापदण्डको आधारमा ४०/५० प्रतिशत सम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । उत्पादनमुलक उद्योगलाई सहज व्यवस्था गरिएको छ,’ उनले भने ।
कर्जा असुलीका सम्बन्धमा राष्ट्र बैंकले गरेको पछिल्लो व्यवस्थाले बैंकको खराब कर्जा बढ्ने र त्यसले बैंकको नाफामा असर पर्ने उनको भनाइ छ ।
बजारमा कर्जाको माग घट्दै गएको र कर्जाको माग बढ्न नसक्दा बैंकिङ क्षेत्रमा समस्या भएको केसी बताउँछन् ।
अर्थतन्त्रमा सुधार गर्नको लागि सरकारी खर्च बढाउनुपर्ने केसीको भनाइ छ ।




