काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर (मार्जिन प्रकृतिको) कर्जा करिब सवा ४ अर्ब रुपैयाँले घटेको छ। यो ५.२ प्रतिशतको कमी हो । ०७८ भदौमा राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा लगाएपछि घट्न थालेको सेयर कर्जा त्यसपछिका प्रायः सबै महिनामा घटिरहेको तथ्यांकहरूले देखाएका छन्। आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीतिमार्फत भएको नीतिगत कडाइले सेयर कर्जासँगै नेप्से परिसूचक पनि धेरैले घटेको र त्यसयता बढ्न नसकेको जानकार बताउँछन्।
गत असारसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत असारसम्म यस क्षेत्रमा प्रवाह भएको कर्जा करिब ४ अर्ब २० करोड रुपैयाँले कम हो । ०७९ असारमा ८० अर्ब ५० करोड र ०७८ असारमा १ खर्ब ६ अर्ब रुपैयाँ सेयर कर्जा लगानीमा थियो। उल्लिखित तथ्यांकबाट पनि ०७८ असारयता सेयर कर्जा घट्दै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर घरजग्गालगायत कर्जामा कडाइ गरेको थियो ।
राज्यको नीतिगत व्यवस्थाले सेयर बजार प्रभावित हुने र पछिल्ला वर्षमा कसिला नीति आएकाले सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए। ‘०७८ भदौमा राष्ट्र बैंकले ४ र १२ करोडको नीति ल्यायो, यो व्यवस्थापछि घट्न थालेको सेयर बजार अझै बढ्न सकेको छैन,’ उनले भने, ‘नीतिगत खुकुलो नभएसम्म सेयर बजारमा बढोत्तरी आउन कठिन छ।’
गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले केही सेयर कर्जामा खुकुलो बनाउन खोजे पनि अर्थतन्त्रमा आएको शिथिलताका कारण लगानीकर्ताले कर्जा लिने आँट गर्न नसकेको उनको भनाइ छ। ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि तरलता अवस्था सहज भएकाले बैंक तथा वित्तीय संस्थाले साना ठूला सेयर कर्जामा विभिन्न अफरहरू ल्याइरहेका छन्,’ उनले भने, ‘तर, शिथिल अर्थतन्त्र, अपेक्षाअनुरूप बढ्न नसकेको सेयर बजारलगायत कारण लगानीकर्ता कर्जा लिएर सेयरमा लगानी गर्ने अवस्थामा छैनन्।’ कान्तिपुर दैनिकबाट




