अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडाैं | राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उनले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताएका उल्लेख छ ।

नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखेका छन् ।

राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पारेका छन् ।

भेटका अवसरमा महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने बताएका थिए ।

सरकारले पुँजीगत खर्च गर्न नसकेको र बैंक वित्तीय संस्थाहरूबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको र यस्तो अवस्थामा पुँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको थियो ।

अध्यक्ष ढकालका अनुसार व्यवसाय सत प्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ तर व्यवसाय दुई तिहाइ खुम्चिँदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजश्व सङ्कलन भएको छ । “यससँगै सरकारी लक्ष्यभन्दा छ प्रतिशत विन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पूँजीको लागत घटाई बजारमा रकम प्रवाह गर्नुपर्दछ”, उनले भने ।

यसैगरि अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवर्द्धनमा विशेष पहल आवश्यक रहेको बताए ।

महासङ्घका पदाधिकारी लगायत कार्यकारिणी समितिले राष्ट्रपति समक्ष भेट गरेको हो । सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताए । उपाध्यक्ष हेमराज ढकालले यसपटक आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित रहेकोले तत्काल सुधार आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *