काठमाडौं । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले, नेपाल राष्ट्र बैंक वित्तीय दलालको प्रभावमा रहेको आरोप लगाएका छन् । त्यस्तै उनले सरकारले समितिसँग गरेको चार बुँदे सहमतिलाई आगामी मंसिर ५ गतेसम्म पूरा नगरे प्रतिक्रिया स्वरुप आन्दोलनका स्वरुपलाई नै परिवर्तन गर्ने चेतावनी दिए ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ज्ञवालीले राष्ट्र बैंक वित्तीय दलालको प्रभावमा परेकोले समितिलाई छानविनका लागि प्रतिनिधि पठाउन असहयोग गरिरहेको आरोप लगाए ।
‘राष्ट्र बैंक जो हामीलाई प्रतिनिधि नपठाएर जो वार्तामा असहयोग गरिएको छ, यो भनेको वित्तीय दलालहरुको प्रभावमा राष्ट्र बैंक छ । त्यसभित्र पनि वित्तीय दलालहरु गठजोड गरेर बसिरहेका छन् । यसको ज्वलन्त उदाहरण भनेको आजसम्म पनि वार्ताको लागि प्रतिनिधि चुनेर नपठाउनु,राज्यलाई असहयोग गर्नु भनेको वित्तीय दलालहरुको मुठ्ठिमा राष्ट्र बैंक परेको छ,’ ज्ञवालीले भने । उनले राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीलाई छिटो प्रतिनिधि तोकेर पठाइदिन आग्रह गरे ।
विगत १८ महिनाबाट लघुवित्त पीडितहरुको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको दाबी गरेका ज्ञवालीले सरकारले समितिसँग गरेको ४ बुँदे सहमतिलाई पूरा गर्न खबरदारी मात्र गरेनन् माग पूरा नभए गर्दै आएको शान्तिपूर्ण आन्दोलनको स्वरुप परिवर्तन गर्ने चेतावनी दिए ।
उनले भने, ‘सरकारको वार्ता टोली र हामीसँग जुन ४ बुँदे सहमति गरेको छ,मंसिर ५ गतेसम्म हामी त्यो ४ बुँदे सहमतिलाई जेल नै जानु परेपनि, लगुवित्त क्षेत्रले मच्चाइरहेको आतंकलाई हामी सकेसम्म कानूनी रुपले समाधान गर्दै हामीसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँछौं र मंसिर ५ गतेसम्म पनि हाम्रा कुराहरु सुनिएनन् र राज्य र राजनीतिक दलहरुले वेवास्ता गरे भने त्यसको प्रतिक्रिया स्वरुप आन्दोलनको स्वरुप परिवर्तन गछौं ।’
अर्थ सन्जाल