

काठमाडौं । भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस वर्ष चिनीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । भारतले आगामी असोजदेखि चिनी निकासीमा प्रतिबन्ध लगाउन सक्नेछ ।
भारतले सात वर्षपछि पहिलो पटक चिनी निकासीमा प्रतिबन्ध लगाउने कदम चालेको हो । यसपटक उखुको बाली राम्रो नभएकाले अर्को सिजन बाहिर पठाउने चिनी पुग्दैन । भारत सरकारले यसपटक सेप्टेम्बर ३० सम्म ६१ लाख टन चिनी निर्यात गर्न अनुमति दिएको छ भने गत सिजन ११ लाख टन चिनी अन्य देशमा पठाइएको थियो ।
सबैभन्दा बढी उखु उत्पादन हुने पश्चिमी राज्य महाराष्ट्र र दक्षिणी राज्य कर्नाटकका जिल्लामा कम वर्षा भएको बताइएको छ । यही कारणले चिनीको अभाव हुन सक्छ ।
केही वर्षदेखि ठूलो परिमाणमा चिनी निकासी हुने गरेको सरकारी स्रोतले बताएको छ, तर यसपटक त्यो हुन सकेको छैन ।
हालै सरकारले प्याज निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । यो निर्णयको विरोधमा किसानहरु आन्दोलनमा उत्रिएका छन् । यो निर्णयका कारण प्याजको भाउ घटेको किसानहरुको भनाइ छ । यसअघि सरकारले गैर-बासमती सेतो चामल निकासीमा प्रतिबन्ध लगाएको थियो।

अर्थ सन्जाल