दूरसञ्चार प्राधिकरणका अध्यक्ष भन्छन– ‘टेरामक्स प्रणाली उपभोक्ताको हितमा छ, फोन कल रेकर्ड गर्छ भन्ने हल्ला मात्र हो’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि लागू गर्ने तयारी गरिरहँदा गएको मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘फोन रेडर्क गर्ने टेरामक्स लागू नहुने’ बताए । तर टेरामक्सले फोन कल रेकर्ड गर्नै नमिल्ने दूरसञ्चार क्षेत्रका विज्ञले बताएका छन् ।

दूरसञ्चार सेवा प्रदायकले गुणस्तरमा त्रुटि देखिए कारबाहीमा पर्ने डरले माफियामार्फत प्रधानमन्त्रीलाई प्रभावमा पारेको दूरसञ्चार प्राधिकरणको निष्कर्ष छ । सरकारले नेताहरूको फोन निगरानीमा राख्न टेरामक्स लागू गरेको हो भन्ने माफियाहरुको गलत भाष्यलाई अध्ययन नै नगरी पत्याइदिएका कारण समसइा आएको प्राधिकरणको दाबी छ ।

दूरसञ्चार सेवा प्रदायकले टेरामक्स प्रविधि लागू गर्दा उपभोक्तामाथि भइरहेको ठगी पर्दाफास हुने, कारबाही र जरिवानामा परिने त्रासकै कारण जसरी पनि टेरामक्स प्रणाली लागू गर्न नदिने प्रयास गरिरहेका प्राधिकरणले नष्किर्ष निकालेको छ ।

के हो टेरामक्स प्रविधि ?

टेरामक्स नेपाल टेलिकम, एनसेलजस्ता दूरसञ्चार सेवा प्रदायक कम्पनीको गुणस्तर मापन र नियमन गर्ने एक प्रविधि हो । नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालका अनुसार दूरसञ्चार ऐनको दफा १७ ले नेपाल दूरसञ्चार प्राधिकरणलाई दूरसञ्चार प्रदायकहरूले प्रदान गरेको सेवाको महसुल र गुणस्तर तोके बमोजिम छ कि छैन भनेर नियमन गर्ने अधिकार दिए बमोजिम टेरामक्स प्रणाली लागू गर्ने तयारी भएको हो ।

‘यो क्षेत्रबाट पाउनु पर्ने राजस्व राज्यले पाएको छ कि छैन, भिओआइपीजस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सन्दर्भमा यी विषय पहिचान र अध्ययन गरी नियामक निकायलाई रिपोर्टिङ गर्ने स्वचालित प्रविधि टेरामक्स प्रणाली हो, यो प्रविधिले कुनै पनि व्यक्तिको फोन ट्यापिङ गर्दैन,’ उनले भने ।

उनले नियामक निकायको आफ्नो कार्यक्षेत्र भित्र नपर्ने कुरा राज्यले लगाउन नसक्ने बताए । ‘कुरा प्रष्ट छ, राज्यले कसैको फोन ट्यापिङ नै गर्नु थियो भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भन्थ्यो होला । तर टेरामक्स प्रविधि फोन ट्यापिङसँग सम्बन्धित छैन,’ उनले भने ।

कार्यकारी अध्यक्ष खनालले टेरामक्स प्रविधि लागू भएमा सेवा प्रदायकहरू बढी उत्तरदायी हुनुपर्ने बताए । ‘दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई लगाएको महसुलको सन्दर्भमा पहिले प्रष्ट पार्छु । तपाईले फोन गर्दा कति सेकेन्ड गर्नुभयो, कति मिनेट गर्नुभयो, त्यसको कति रुपैयाँ कति पैसा शुल्क लाग्थ्यो भन्ने कुरा जानकारीमा रहँदैन, थाहा हुँदैन । तपाईले कति डाटा प्रयोग गर्नुभयो, बाटोमा हिँड्दा हिँड्दै यो डाटा कति परिमाणमा प्रयोग गर्नुभयो, त्यसको कति शुल्क लाग्यो र कुन गुणस्तरको डाटा दिएको छ भन्ने कुराको जाँच गर्नकै लागि टेरामक्स प्रविधि लागू गर्न खोजिएको हो,’ उनले भने ।

उनका अनुसार फोन गर्दा गर्दै काटियो, हेल्लो भन्दाभन्दै काटियो र त्यसमा चार्ज चढ्यो कि चढेन भन्ने कुरामा प्रष्ट मापदण्ड रहेका छन् । यस्तो अवस्थामा शुल्क काट्न नपाइने र शुल्क काटिएमा उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने नियम रहेको उनले बताए ।

‘तोकिएकै गुणस्तरको सुबिधा दिनुपर्ने प्रष्ट व्यवस्था गरिएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले तोकिएको गुणस्तर र मापदण्ड पूरा गरेको छ कि छैन भनेर भोल्युममा हेर्नलाई टेरामक्स प्रविधि उपयुक्त हुन्छ,’ उनले भने ।

‘उपभोक्तामाथि ठगी रोकिन्छ’

दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष खनालले नेपालको दुई करोड ९२ लाख जनसंख्यामध्ये ७१ प्रतिशतको हातमा मोबाइल र ७१ प्रतिशत नागरिकको फोनको लाग्ने शुल्क र प्रयोग भइरहेको डाटा व्यक्तिगत रुपमा प्रत्येकको हेर्न असम्भव हुने बताए । ‘त्यसैले यी कुरालाई एकमुस्ट हेरेर शंकास्पद गतिविधि पहिचान गरेर सेवा प्रदायकलाई जिम्मेवार बनाउने हिसाबले टेरामक्स ल्याएको हुनाले उपभोक्तामाथि हुने कुनै किसिमको ठगी नियन्त्रण गर्न सहज हुन्छ,’ उनले भने ।

उनका अनुसार अहिले जुन फोन ट्यापिङको हल्ला छ, त्यो विषय टेरामक्स प्रविधिभित्र पर्दैन । ‘यो खुला टेण्डर प्रक्रियाबाट आएको हो, टेण्डर प्रक्रियामै यसको कामको विषय प्रष्ट थियो ।’, उनले टेरामक्स कसैको निगरानी गर्ने भन्ने कुरा हुनै नसक्ने प्रष्ट पारे । ‘दूरसञ्चार सेवा प्रदायकको सिस्टममा समान रुपमा बस्छ । त्यसैले यसबाट कसैको निगरानी हुँदैछ भन्ने कुरा मित्था हो,’ उनले भने ।

‘गुणस्तर नभए क्षतिपूर्ति दिनुपर्छ’: अध्यक्ष खनाल

कार्यकारी अध्यक्ष खनालले टेरामक्स प्रणाली लागू भएपछि सबैभन्दा बढी उत्तरदायी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुपर्ने बताए । उनका अनुसार जसले उपभोक्तालाई ठगी गर्दै आएका छन्, उपभोक्ताले गुणस्तरीय सेवा पाएन भने क्षतिपूर्ति दिनुपर्छ, भ्वाइसको गुणस्तर भएन भने पनि क्षतिपूर्ति दिनुपर्छ ।

‘अहिलेसम्म मेरो सेवा ठिक छ, सबै राम्रो छ भनेका छन् । तर उपभोक्ताका तर्फबाट अधिकतम गुनासो आएकै छन् । मैले गुणस्तरीय सेवा पाइनँ, मैले टपअप गर्ने बितिकै पैसा काटियो भन्ने गुनासो उपभोक्ताबाट तपाई हामीले सुन्ने गरेकै छौँ । यदि यो प्रणाली लागू भयो भने मेसिनले नै ठिक छ कि छैन भनेर जानकारी दिने भयो । उपभोक्तामाथि ठगी नहुने भयो, सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्ने भयो । उत्तरदायी हुनुपर्ने भयो,’ उनले भने ।

कसरी हुन्छ गुणस्तर मापन  ?

कार्यकारी अध्यक्ष खनालले टेस्ट ड्राइभमार्फत गुणस्तरको परीक्षण हुने बताए । ‘हामी टेस्ट ड्राइभ गर्छौ । टेस्ट ड्राइभ भनेको हाम्रो मेसिन गुडाएर जाँदा तोकेको मापदण्डको सेवा छ कि छैन भन्ने प्रमाणित भएको छ । दूरसञ्चार सेवाको गुणस्तर के छ भन्ने कुरा प्रष्ट आउँछ । भिओआइपी गतिविधि भएको भए निगरानी गर्न सकिन्छ,’ उनले भने ।

उनले सरकारको आधिकारिक निकायकै प्रतिवेदनमा भिओआइपीबाट १२–१३ अर्ब चोरी हुने गरेको तथ्य आएको उल्लेख गर्दै यस्ता सम्पूर्ण पक्षलाई हेरेर राज्यको राजस्व सुरक्षित गर्नकै लागि दूरसञ्चार प्राधिकरणले यो प्रविधि लागू गर्ने तयारी गरेको बताए । ‘दूरसञ्चार सेवा प्रदायकहरू पारदर्शी हुनुपर्छ । तोकिएको गुणस्तरको दिएको छ कि छैन । यदि छैन भने क्षतिपूर्ति दिलाउने कुरा पहिले कागजमा मात्रै थियो । अब मेसिनले परीक्षण गरेर प्रष्ट हुने भयो । त्यसैले सेवाप्रदायक बढी जिम्मेवार हुनुपर्ने भएकाले कोही–कोहीलाई त्रास भएको हो । तर अहिलेसम्म जे–जे भयो । अब उपभोक्ताको अधिकारको पक्षमा हामी अघि बढिसक्यौ । टेरामक्स लागू हुन्छ,’ उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *