१० बैंकले बढाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । भदौ महिनाका लागि अधिकाशं वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । हाल सञ्चालनमा रहेका २० मध्ये १० वटा बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । पाँच बैंकले ब्याजदर घटाएका छन् भने बाँकी पाँच बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकास, नेपाल बैंक, सानिमा, कुमारी, ग्लोबल आईएमई, एनआईसी एसिया र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै अधिकतम १०.८९६ प्रतिशतसम्मको ब्याजदर प्रकाशन गरेका छन्।

एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत ब्याज दिने भएका छन् । राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिनेछन् । लक्ष्मी सनराइजले १०.४० र नबिलले (अवधि २ वर्षमाथि) १०.४९ प्रतिशतसम्म ब्याज दिनेछन् । स्ट्यान्डर्ड चार्टडको ब्याजदर भने सबैभन्दा कम ८.९२ प्रतिशत (१ वर्षमाथि) ब्याजदर दिने भएका छन् ।

ब्याजदर वृद्धिसँगै भदौका लागि बैंकहरूको निक्षेपको उच्च ब्याजदर औसत १०.३३ प्रतिशत कायम भएको छ। साउनमा यस्तो ब्याजदर ९.९१ प्रतिशत थियो।

राष्ट्र बैंकको निर्देशनअनुसार अहिले अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने व्यवस्था छ ।

बैंकहरुले आधार दरमा प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन्। बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ भने आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *