काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।
प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएकाेले अरु कुनै बहानाबाजी नभए आजबाट नियमित सुनवाइ हुन सक्ने देखिन्छ । यसअघि यो बहुचर्चित मुद्दामा अनेकपटक पेसी चढेर सुनवाइ स्थगित हुँदै आएका छन् । एकपटक सुनवाइ भएर पनि न्यायधीशले हेर्दा हेर्दैमा नराखेपछि बहस रद्द भएको थियो । सन्दीपले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् ।
यसअघि मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।




