जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक

काठमाडौं। नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपलब्ध गराइएको विवरणअनुसार एक सय बालिका जन्मिदा सरदर एक सय १४ बालकको जन्म हुने गरेको छ। विश्वमा एक सय बालिका जन्मदा एक सय छ बालक जन्मिनुलाई स्वाभाविकरूपमा लिइन्छ।

मधेस प्रदेशमा एक सय बालिका बराबर एक सय २२ र सुदूरपश्चिम प्रदेशमा एक सय १८ बालकको जन्म हुनुले ती प्रदेशमा अझै पनि छोराप्रतिको चाहना अत्यधिक रहेको देखिन्छ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जन्मदा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै भए पनि १९ वर्ष उमेरपछि भने पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी रहेको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी नेवीनलाल श्रेष्ठले बताए।

जनगणनाका बेला ठूलो सङ्ख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन भएका कारण लैङ्गिक अनुपात तलमाथि हुन गएको अनुमान गरिएको छ। स्थानीय तहतर्फ विश्लेषण गर्दा ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक र बालिकाको सङ्ख्या उल्लेखनीय देखिएको समितिमा प्रस्तुत राष्ट्रिय जनगणनाले देखाएको जनसङ्ख्याको आकार, प्रकार र संरचनासम्बन्धी प्रस्तुतिमा समावेश छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *