गौर हत्याकाण्डबारे पीडित पक्षसँग सरकारले गरेकाे सहमतिले किन तर्सियाे जसपा ?

काठमाडौं । सरकारले आन्दोलनरत पक्षसँग गौर हत्याकाण्ड छानबिनका लागि सहमति  गरेपछि सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) तरंगित भएकाे छ । मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको ५ बुँदे सहमतिमा गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएको थियो ।

सरकार र आन्दोलनरत पक्षबीच गौर घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको थियो ।

उक्त सहमतिको विषयपछि उत्पन्न परिस्थितिको बारेमा जसपाको केन्द्रीय कार्यसमितिका राजधानीमा उपलब्ध सदस्यहरुको अनौपचारिक बैठक ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको छ । राजनीतिक आन्दोलनको क्रममा सो घटना भएको बताउँदै आएको जसपाले सरकारले व्यक्तिगत अपराधको जस्तो गरी व्यवहार गर्नु नहुने भन्दै आएको छ ।

१७ वर्ष अघिको सो काण्डको छानबिनमा जसपाका जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरु तानिने भएपछि जसपा तरंगित भएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

२०६३ चैत ७ मा रौतहट गौरस्थित राइसमिल चौरमा आमसभाको विषयमा नेकपा माओवादी र तत्कालीन मधेशी जनताधिकार फोरमबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । त्यस प्रकरणमा पीडितहरु आन्दोलनमा उत्रिएपछि सरकारले पाँचबुँदे सहमति गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *