

काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले टोली गठन गरेको छ । ब्यूरोले एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धन टोली बनाएको हो ।
सुन तस्करी प्रकरणमा राजस्व र भन्सार छली अन्तर्गतको कानुनका दफा लगाएर राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । तर, यो संगठित रुपमा भएको अन्तर्देशीय अपराध भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान दायरा फराकिलो बनाएर मूख्य अभियुक्तसम्म पुग्ने गरी अनुसन्धान जिम्मा प्रहरीलाई सुम्पिन भनेपछि प्रहरीले जिम्मा पाएको हो । आइतबार हालसम्म खुलेका तथ्य र प्रमाण तथा बरामद सुनसहित पक्राउ आरोपितलाई प्रहरीको जिम्मा लगाएको थियो ।
त्यसलगत्तै महानिरीक्षक बसन्तबहादुर कुँवरले सुन प्रकरणको अनुसन्धान गर्न ब्यूरोलाई निर्देशन दिएका थिए । त्यसपछि ब्यूरो प्रमुख किरण बज्राचार्यले एसपी थापासहित डीएसपी, इन्स्पेक्टर र अरु अनुसन्धानकर्मी रहने गरी टोली गठन गरेकी हुन् ।
संगठित अपराधको कसुरमा पक्राउ परेका आरोपितलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान टुंगोमा पुर्याइ अनुसन्धान र अभियोजनको काम सक्नुपर्ने छ । विभागले २० दिन थुनामा राखिसकेका कारण अब ब्यूरोले बाँकी ४० दिनभित्र अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
यो प्रकरणमा चीन, भारत, बेल्जियनका गरी ३ विदेशी नागरिकसहित १८ जना पक्राउ परेका छन् । स्वास्थ्यका कारण एक जना आरोपित हाजिरी जमानतमा रिहा भएर बाँकी १७ जना अहिले ब्यूरोको नियन्त्रणमा छन् ।

अर्थ सन्जाल