काठमाडौं । हालै मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरेको लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
असार मसान्तसम्म बैंकको खुद नाफा ४९.४५ प्रतिशतले बढेर २ अर्ब २६ करोड १८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशतले बढेर ५ अर्ब ५० करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
सञ्चालन मुनाफा ५८.८९ प्रतिशत बढेर ३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब १५ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.८१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.८९ प्रतिशत थियो । बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ९१ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ ।
२१ अर्ब ६७ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।




