काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका छन्।
मल्लले सन् २००५ देखि उमेर समुहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ आवद्व भएर खेले । उनले २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।
सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेले । सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे ।
२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ मंसिरसँम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहे । ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।
कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेले । तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए । गत वर्ष साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा उनले टोलीमा पुनरागमन गरेका थिए ।
ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी-२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।
अर्थ सन्जाल