काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या ७ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएअनुसार हालसम्म कुल ७ हजार २५३ जना डेंगीबाट संक्रमित भइसकेका छन् । जनवरी १ देखि संकलित यो तथ्यांक बिहिबारसम्मको हो ।
संक्रमित सबैभन्दा धेरै सुनसरीमा देखिएका छन् । ३० जुलाईसम्म सुनसरीमा ३ हजार ४८६ वटा डेंगीका केस रहेकोमा ४ दिनको अन्तरालमा १ हजार थप भएका हुन् । सुनसरीमा हाल ४ हजार ६७९ जना संक्रमित भइसकेका छन् ।
त्यसैगरी धादिङमा ८२९, काठमाडौँमा ११९, दार्चुलामा १९१ र कास्कीमा २१४ वटा डेंगीका केस भेटिएको छ । संक्रमित सबैभन्दा धेरै कोशी प्रदेशमा देखिएको छ । त्यहाँ मात्रै ५ हजार १०१ जनामा डेंगी संक्रमण भइसकेको छ ।
त्यसैगरी बागमती प्रदेशमा ११७१, गण्डकी प्रदेशमा ३८९ र सुदूरपश्चिम प्रदेशमा ३४२ जना, लुम्बिनी प्रदेशमा १९१, मधेश प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित भइसकेका छन् । हालसम्म ७० जिल्लामा डेंगी पुष्टि भइसकेको छ ।




