काठमाडौं । नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवद्र्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले श्रावण १५ गते आयोजना गरेको कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेल, सिबिफिनका अध्यक्ष पवन गोल्याण, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले पुस्तक विमोचन गरेका थिए । उक्त पुस्तकका लेखकहरु डा. गोपालप्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाँई हुन ।
विमोचन कार्यक्रममा सिबिफिनले नेपाली मौलिक उत्पादनहरुको विषयमा अध्ययन गर्नुको कारण र औचित्यबारे प्रकाश पारेका थिए । अध्यक्ष गोल्याणले बैंक तथा वित्तीय संस्थाहरुबाट जोखिमयुक्त एवं अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई सुरक्षित र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गराउन जरुरी देखिएको उल्लेख गर्दै आन्तरिक बजारमा बढ्दो माग भएका र वाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वन पैदावारलगायतका १० वटा वस्तुहरुको १० वर्षे तथ्यांक केलाएर अध्ययन गरिएको बताए ।
पुस्तकले समग्र उद्यमी/व्यवसायीहरुको स्तरोन्नतिको मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्गनिर्देश समेत गरेको उनको भनाई थियो । अध्यक्ष गोल्यानले कृषि तथा वन पैदावारलगायतका क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको समुचित प्रयोग हुन नसकेको उदाहरण दिँदै विशेष गरी साना साना तथा घरेलु उद्योगहरु, कृषि, वन पैदावर जस्ता बढी मूल्य अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्र्नुपर्नेमा विशेष जोड दिएका थिए । विभिन्न देशहरुका लागि प्रस्तावित राजदूतहरु र परराष्ट्र सचिवतर्फ इंगित गर्दै अध्यक्ष गोल्याणले नेपाली उत्पादनहरुको प्रवद्र्धन र विश्व बजारीकरण लागि विदेशमा रहेका नेपालका राजदूतहरुले विशेष ब्राण्ड एम्बासडर भएर काम गर्न आग्रह समेत गरे ।
मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सिबिफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनहरुको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र संभावना दुवै औल्याइदिएको बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताउँदै उनले नेपाली उत्पादनहरुको प्रवद्र्धन तथा उपयोगलाई प्रश्रय दिँदै निर्यातलाई बढावा दिनुपर्ने उल्लेख गरे । त्यसैगरी उनले मुलुकले निर्यातजन्य वस्तु उत्पादनमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख गर्दै उत्पादकत्व वृद्धि र निर्यात प्रवद्र्धनका लागि देखिएका नीतिगत र व्यवहारिक कठिनाइहरुको सुधार गर्न नेपाल सरकारले आवश्यक सहजीकरण र पहलकद्मी लिने बताए ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने उल्लेख गर्दै निर्यातजन्य वस्तुको उच्च गुणस्तर कायम गर्न र प्रमाणीकरण गर्न सरकारकोतर्फबाट पनि आवश्यक पूर्वाधारहरुको विकास गर्नुपर्ने बताए । उनले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले सिबिफिनले सरकार र अन्य क्षेत्रले भन्दा एक कदम अगाडि बढेर आम उद्यमी/व्यवसायी र राष्ट्रको हित हुने गरी बहुपयोगी पुस्तक तयार गरेको बताउँदै, नेपालको उर्वरशील भूमि र प्राकृतिक स्रोतहरुको उचित प्रयोग र परिचालन नगरी राष्ट्रको आर्थिक उन्नति नहुने बताए । ‘हामीसँग जे छ त्यो उपयोग गरौ, जे सम्भव छ, त्यो उत्पादन गरौ’, सचिव मरासिनीले भने, ‘त्यसका लागि संभावनाका क्षेत्रहरुको उजागर, पहिचान र परिचालन गर्नुपर्छ ।’ विश्वबजारमा अत्यधिक माग भएका नेपाली उत्पादनहरुको निकासी गर्ने कार्यमा सम्भव भएका सबै कार्यहरुमा सहजीकरण गर्न मन्त्रालय तयार गरेको समेत उनले स्पष्ट पारे ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले अध्ययन पुस्तकले औल्याएका तथ्य–तथ्याङ्क र सुझावहरुलाई नेपाल सरकारले मनन् गर्नुपर्ने बताए । उनले योजना तर्जुमा गर्दा आएका सुझावहरुलाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने पनि बताए । आम उद्यमी तथा व्यवसायीहरुले पनि आफ्नो लगानी, उत्पादन र व्यवसायले देशको अर्थतन्त्रमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा पनि ध्यान दिन आग्रह गरे ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल च्याम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनकी उपाध्यक्ष देवीका बुढाथोकीले समेत अध्ययन पुस्तकका विषयमा चर्चा गर्दै नेपालका उद्यमी÷व्यवसायीहरुले भोगिरहेका समस्या र समाधानका लागि गर्नुपर्ने सुधारका विषयमा धारणा राखेका थिए।







