

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। असार मसान्तसम्म संस्थाको नाफामा गिरावट आएको छ ।
सो अवधिसम्म संस्थाको खुद नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष संस्थाले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो ।
संस्थाको वितरणयोग्य मुनाफा पनि १९.११ प्रतिशतले घटेर १७ करोड ७१ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको सञ्चालन मुनाफा पनि २३.४२ प्रतिशतले घटेर २८ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३७ करोड १८ लाख रुपैयाँ भएको थियो।
असार मसान्तसम्म संस्थाले ४३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४२ करोड ५४ लाख रुपैयाँमा सीमित थियो ।
एक वर्षको अवधिमा यस कम्पनीको सञ्चालन नाफा, खुद फि तथा कमिसन आम्दानी घटेको छ, भने खराब कर्जा बढेको छ । संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.६६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल शून्य प्रतिशत थियो । संस्थाको इम्पेयरमेन्ट चार्ज ११ करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि यस्तो चार्ज ४ करोड ३२ लाख रुपैयाँले ऋणात्मक थियो ।
संस्थाको जगेडा कोष १९.७८ प्रतिशतले बढेर २५ करोड ३८ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जगेडा कोषमा २१ करोड १९ लाख रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६.६५ रुपैयाँबाट घटेर १७.१६ रुपैयाँ कायम भएको छ । पीई रेसियो ४१.९१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३७.८७ रुपैयाँ रहेको छ।
समीक्षा वर्षसम्म संस्थाले ७ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ९ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई १० अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

अर्थ सन्जाल