

काठमाडौं । काठमाडौँको ठमेलस्थित होटल भियानामा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विमानस्थलबाट बाहिरिएको एक क्वीन्टल सुन तस्करीसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि छापा मारिएको विभाग उच्च स्रोतले बताए ।
विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।
हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।

अर्थ सन्जाल