काठमाडौं । हातमा लौरी । उमेरले ७० काटिसक्यो । उमेर हेर्दा घरमै आराम गरेर बस्नुपर्ने हो । तर लघुवित्तले घरमा बसिखान नदिएपछि मोरङका अघोरीलाल माझी थारु न्याय माग राजधानी आइपुगेका छन् । लघुवित्त एक लाख ५० हजार ऋण लिएका उनले डेढ वर्ष किस्ता बुझाउँदा पनि साँवा एक रुपैयाँ पनि घटेन । साधारण खेतीकिसानी गर्दै आएका थारुलाई लघुवित्तको ऋणले पिरोल्नुसम्म पिरोलेको छ । अहिले उनको पीडा बुझिदिने कोही छैनन् । पटकपटक गरेर आधाभन्दा बढी किस्ता बुझाइसकेका उनको ऋण कत्ति पनि घटेको छैन । उनले यो गुनासो सम्बन्धित लघुवित्तलाई नपोखेका पनि होइनन् । जसलाई उनले किस्ता बुझाउथे त्यो कर्मचारी नै सरुवा भएको भनेर लघुवित्तले पुरै ऋण तिर्न ताकेता गर्दै बारम्बार धम्कि दिन्छ । ‘हामीले बुझाएको हिसाबकिताब देखाइदिनुस् भन्दा छैन भन्छन् । हामीलाई चाहिँ कहाँबाट आउँछ पैसा ?’- उनी भन्छन् । ‘खेति गर्छु भनेर ऋण लिएको अहिले क्षति नै क्षति मात्र भएको छ । जति तिरे पनि जतिको त्यति नै रहने रहेछ ।’
आफूले कति बुझाए र कति लिए भनेर समेत यकिन गर्न नसक्ने भइसकेका उनलाई लघुवित्तको ऋणले बेचैनी र छटपटीमा पारेको छ ।
लघुवित्तका कर्मचारीको धम्कीका कारण उदयपुर जलजलेकी मसिया सदा अहिले घरमा बस्न नसक्ने अवस्थामा पुगेकी छिन् ।
उनले एक लघुवित्तबाट ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । उनले उद्यम गर्नको लागि ऋण लिएकी थिइन् । दालमोठ र भुजियाँ उत्पादन गर्दै आएकी उनलाई ऋणले डुबाउछ भन्ने के थाहा ? व्यवसाय विस्तार गर्न लिएको लघुवित्तको ऋण तिर्दा तिर्दै उनको व्यवसाय नै सकियो । व्यवसाय पनि सकियो घरमा पनि चरम आर्थिक संकट आइलाग्यो । त्यसपछि उनले ऋणको किस्ता बुझाउन सकिनन् । तिर्न सकुन्जेल राम्रै बनेको ऋण अहिले गलाको पासो बनेको छ । अहिले उनलाई त्यो ऋण निल्नु न ओकल्नुको बनेको छ ।
लघुवित्तका कर्मचारीले दिनदिनै धम्कि दिन्छन् । उनी भन्छिन्, घरमा आएर दिनदिनै धम्की दिन्छ । छोरा र श्रीमानलाई जेल हाल्दिन्छु भनेर भन्छ । म के गरू ? तिर्नलाई पैसा छैन । घर बस्न नसक्ने अवस्थामा पुगेकी उनी न्याय माग गर्दै माइतीघर मण्डलामा आपुगेकी छिन् । आँखाभरी टिलपिल आँसु पार्दै उनी भन्छिन्, ‘ऋण तिर्न नसक्ने अवस्थामा छु । सरकारले मिनाहा गर्दिन्छ कि भन्ने आश छ’ ।
धादिङकी अस्मिता थापामगरको पनि पीडा उस्तै छ । पाँच हजारबाट ऋण लिन सुरु गरेकी उनी अहिले ८/९ वटा लघुवित्तको ऋणी बनेकी छिन् । अहिले पनि उनले लघुवित्त ४/५ लाख रुपैयाँ ऋणको भारी बोकिरहेकी छिन् । तरकारी खेतीको लागि ऋण लिन सुरु गरेकी उनी लघुवित्तको जन्जालमा नराम्ररी फसेकी छिन् । उनी भन्छिन्, ‘सुरु सुरुमा त राम्रै भइराखेको थियो । पछि लघुवित्त धेरै भए । लघुवित्तहरुले नै फोर्स गरेर सदस्य बन्न आग्रह गर्थे राम्रै होला नि त भनेर बसियो । तर अहिले यो गति बनाइदियो ।’
लघुवित्तले एकतर्फी मात्र बाटो देखाइदिँदा आफूले सास्ती खेप्नुपरेको उनको गुनासो छ । ‘लघुवित्तले एकतर्फी बाटो देखाएर बिचल्ली पार्यो । उनीहरु ऋण लिने बाटो देखायो । राम्रो पक्ष मात्र देखायो । होला नि त भनेर ऋण लिइयो । अहिले कालो घरी कालोसूचीमा राख्ने धम्कि दिन्छ । यस्तो विकराल रुप लिन्छ भन्ने थाहा भएको भए कसले ऋण लिन्थ्यो ?’ उनी भन्छिन् ।
कानुनी झमेला नबुझ्दा अहिले कयौं पीडित घरबारविहीन हुने अवस्थामा पुगेका छन् ।
झापाका दिललाल चौधरी पनि लघुवित्तबाट पीडित बनेपछि न्याय माग्दै काठमाडौं आइपुगेका छन् । भिन्न भिन्न लघुवित्तबाट ऋण लिएका उनले आधाभन्दा बढी किस्ता किस्ता गरेर बुझाइसके तर उनको ऋण भने जतिको त्यति नै छ । उनी भन्छन्, ‘मैले कुनैबाट ३ लाख, कुनैबाट २ लाख र कुनैबाट अढाई लाख गरी ऋण लिएको थिएँ । किस्ता किस्ता गरेर आधाभन्दा बढी तिरिसके । जति तिर्दा नि ब्याज मात्र घट्छ साँवा मात्र घट्छ भन्नुहुन्छ । अब कहाँबाट ल्याएर तिर्नु ?’
लघुवित्तले धेरैलाई घरबारविहीन बनाएको भन्दै लघुवित्त खारेज हुनुपर्ने र आफूहरुको ऋण मिनाहा हुनुपर्ने उनको माग छ ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । लघुवित्तबाट पीडित भए, बर्वाद भन्दै न्याय माग गर्दै माइतीघर आइपुग्नेको संख्या सयौँ छ । उनीहरु भोक तिर्खा र घामपानीको प्रवाह नगरी राज्यको ढोका ढकढक्याइरहेका छन् । लघुवित्तबाट ऋण लिएका कतिपय ऋणीहरु अहिले गाउँ पस्न सकेका छैनन् । कोही आफ्नै घर पस्न सकेका छैनन् । कोही घर पसेर पनि निदाउन सकेका छैनन् ।
लघुवित्त खारेज गर्नुपर्ने, ऋणीहरु ऋण मिनाहा गर्नुपर्ने लगायतको मागसहित मेचीदेखि महाकालीसम्मका लघुवित्त पीडितहरु काठमाडौंमा जम्मा भएका छन् ।
सजिलै ऋण पाइने भन्दै लघुवित्त संस्थाहरूले गाउँ गाउँ गएर समूह बनाउने अनि ऋणीको क्षमता नबुझी ऋण प्रवाह गर्दा आज लघुवित्तबाट ऋण लिनेहरु सडकमा आइपुगेका छन् । लघुवित्त संस्थाको समूहमा बस्दा फाइदा मात्र हुन्छ भन्ने बुझेका धेरै गरिबहरु आज भएको थोरै सम्पत्त्ति पनि बेचेर सडकमा आइपुगेका छन् ।
उनीहरु ऋणको जन्जालमा यसरी फसेका छन् कि बाहिर निस्कने कुनै उपाय नै छैन । केही उपाय नदेखेपछि आज पीडितहरु ऋण मिनाहाको माग गर्दै राज्यको ढोका ढकढक्याउन आइपुगेका छन् ।







