आयल निगम ३१ अर्ब बक्यौता र ऋण तिरेर अठार अर्ब नाफामा

काठमाडौं । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ ।

दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा निगम घाटामा गएको थियो ।

तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुक्तानी तिरेर नाफा कमाउन सफल भएको हो ।

निगमका अनुसार आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपियाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाउन सफल भएको जानकारी दिए।

“रुस–युक्रेन युद्धका कारण महँगोमा इन्धन खरिद गरेर सस्तोमा बिक्री गर्दा दुई वर्षदेखि लगातर निगम घाटामा गएको थियो,” साहले भने, “आव २०७९/८० को भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले इन्डियल आयल कर्पोरेसन (आइओस) को ३१ अर्ब ऋण तिरेर नाफा कमाउन सफल भएका छौँ ।”

अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य घट्दै गएकाले बिक्री मूल्यमा नाफामा राखेर आइओसीको बक्यौता रकम र ऋण तिर्न सफल भएको उनले जानकारी दिए । गोरखापत्र दैनिकबाट

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *