काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक २०८०–८१को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा लागेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले मौद्रिक नीति ल्याउने अन्तिम तयारीम जुटेको बताए । उनले आउँदो आइतबार (साउन ७ गते)सम्म मौद्रिक नीति ल्याउने लक्ष्यसहित विभागस्तरमा कामकारबाही भइरहेको बताए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबार स्वदेश फर्किंदैछन्। गभर्नर फर्किएसँगै मौद्रिक नीतिका विषयमा थप छलफल हुने र राष्ट्र बैंकको बोर्ड बैठकले पारित गरेसँगै सार्वजनिक गरिने बताइएको छ। मौद्रिक नीतिमा सरोकारावाला निकायहरुबाट प्राप्त रायसुझाव अध्ययन राष्ट्र बैंकको विभागस्तर अध्ययन गर्ने काम भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले प्रोत्साहनको नीति अबलम्बन गर्दै लघुवित्त वित्तीय संस्थाको संख्या घटाउने तयारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको संख्या घटाउने तयारी गरेको हो । लघुवित्त संस्थाको संख्या धेरै भएको भन्दै केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनमा प्रोत्साहनको नीति लिन लागेको हो।
राष्ट्र बैंकले क्रस होल्डिङ ५१-४९ नपुगेका लघुवित्तलाई फोर्स मर्जमा जान दबाब दिन नसक्दा प्रोत्साहनको नीति लिएकोे हो । आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म कुल ६३ लघुवित्त संस्था छन् २०७८ जेठ मसान्तमा ७० थिए। यसअघि राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जाने लघुवित्तलाई सुविधा र छुट नीति दिँदा ७० बाट ५७ मा झरेका छन्।




