

नेपाल वायुसेवा निगमले २०८० असार मसान्तसम्ममा ८३ करोड ऋण तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष (सीआईटी) लाई त्रियासी करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ रकम भुक्तानी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबड र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्वको किस्ता भुक्तान गरेको हो । यस अघि निगमले २०७९ साल आषाढ देखि चैत्र सम्ममा २ अर्व ९४ करोड २८ लाख ६५ हजार आठ सय चौवालिस रुपैया किस्ता रकम भुक्तानी गरेको थियो ।
निगमले निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको जनाएको छ । निगमका अनुसार नियमित तथा आकस्मिक (Bird Hit and other Technical) रुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम तिरिएको र कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दे आइरहेको जनाएको छ ।
यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्र (STOL) मा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजना समेत तिव्र गतिमा अघि वढाइएको निगमले उल्लेखले गरेको छ । निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रबर्द्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास निगमले व्यक्त गरेको छ। यसबाट आफ्नो राष्ट्रिय उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त रहेको प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

अर्थ सन्जाल