नेपालमा रासायनिक मल कारखाना खोल्न जर्मनीको कम्पनीसँग सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनको लागि जर्मनीको कम्पनीसँग सम्झौता भएको छ। लगानी बोर्ड नेपाल र जर्मनीको डिआईएजी इन्डस्ट्रीबीच आज सम्झौता भएको हो ।

उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डिआईएजी इन्डस्ट्रीका म्यानेजीङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन्। सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डिआईएजीको प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७८ चैत्र १७ मा सम्पन्न ५० औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। साथै प्रस्तावकसँग गरिने समझदारीपत्र (MoU) को मस्यौदा मिति २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औं बैठकबाट स्वीकृत भएको थियो । समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डिआईएजीले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्ने छ।

प्रस्तावक डिआईएजीले natural gas, electrolysis (with carbon capture storage) अथवा hybrid (उल्लिखित दुबै) प्रविधि मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७१४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ।

साथै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक-निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *