काठमाडौं । मनाङ एयर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउन दुई वटा हेलिकप्टर परिचालन भएका छन् ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो ।
एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । उनीहरूको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार ‘अल्टिच्युडका हेलिकप्टर आएका छन् । एक जनाको शव थिचिएको अवस्थामा फेला परेको हो । बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ ।’
उक्त हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिक सवार थिए । उनले भने, ‘अब शव उठाउने काम भइरहेको छ । पानी परिरहेकाले केही बेर लाग्ला ।’
बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो । तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो ।







