नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यापारी चन्द्रप्रसाद ढकालले पाथीभरामा स्थानीयले केवलकार निर्माण विरुद्धको अवरोध र आन्दोलनलाई लक्षित गर्दै नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने सोँच आउन थालेको बताए । उनले घुमाउरो शैलीमा पाथीभराको केवलकार परियोजनामा लगानी गरेर गल्ती गरेको बताए।
व्यापारी ढकालको लगानीमा देशका विभिन्न ठाउँमा केवलकारहरु बनिरहेका छन् । सोहिक्रमलाई निरन्तरता दिँदै ढकालले प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरा मन्दिरमा समेत केबलकार संचालन गर्न मरिहत्ते गरेर लागिपरेका छन् । तर उनलाई त्यहाँका स्थानीयले भने साथ दिएनन् । उल्टै पाथीभराका स्थानीयले केवलकार निर्माण विरुद्ध आन्दोलन गर्दै आएका छन् ।
स्थानीयले गरेको आन्दोलनकै कारण पाथीभरामा केवलकार बन्ने या नबन्ने कुरामा अन्यौलता छाएको छ । केही समयअघि चन्द्रागिरी केवलकार संचालन गरेर महँगा होटल तथा रिसोर्टबाट राम्रो आम्दानी हुन थालेपछि ढकालले देशव्याप रुपमा खुलेआम सार्वजनिक जग्गा हडपेर धमाधम केवलकार बनाउदै आएका छन् ।
उनलाई पाथीभरा केवलकार निर्माणमा सांसद योगेश भट्टराईले साथ दिएर नेतृत्व गरेका छन् भने स्थानीयहरु सो को विरुद्धमा छन् । त्यहाँ दर्शन गर्न जाने हजारौं भक्तजनहरु हुने हुँदा केवलकार संचालन गर्दा अत्याधिक पैसा कमाउन सकिने देखेपछि व्यापारी चन्द ढकालले एमाले सांसद योगेश भट्टराइलाई समेत शेयर दिनेगरी पाथीभरा केवलकारमा लगानी गरेका हुन् ।
तर सांसद भट्टराई हात धाएरै लागेपछि केवलकार निर्माणमा स्थानीयहरुले साँसद भट्टराई विरुद्ध समेत आवाज उठाउन थालेका छन् ।
सोही लगानी जोगाउन र त्यहाँ केवलकार निर्माणको प्रकृया अघि बढाउन ढकाल केहीदिनदेखि सरकारी अधिकारीहरुसँगको भेटघाटमा लागिपरेका छन् ।
पाथीभरामा स्थानीयले गरेको आन्दोलनले केवलकार निर्माण हुन नसकेपछि ढकालले शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघको अधिवेशनमा प्रधानमन्त्रीसंग हार गुहार गर्दै लगानीको वातावरण बनाउन आग्रह गरेका हुन् । उनले सो कार्यक्रममा आफ्नै लगानीमा बनाउन लागेको केबलकार निर्माणमा सफलता नमिलेपछि नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने सोँच आउन थालेको भन्दै ढकालले जसहानुभूति बटुल्न थालेकाम हुन् ।







