गफगाफबाट सुरु भएको ‘एका कम्बुचा’ ब्राण्ड बन्दै, ५ लाखमा थालिएको व्यवसाय दुई करोडको बन्यो

काठमाडौं । देशभित्र सम्भावना नदेखेर पलायन हुनेको संख्या डरलाग्दो रुपले बढिरहेको छ । यतिबेला युवा जमातको सपनाको संसार घरदेशभन्दा पनि परदेश बनेको छ । राहदानी विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य नियाल्ने हो भने यो देशका आधाभन्दा बढी युवाको जमात विदेशिँदै छन् । उनीहरुको मुखबाट गुन्जने एउटै स्वर भनेको – यो देशमा भविष्य छैन ।

अहिले लेखपढ गरेका युवादेखि दक्ष जनशक्तिले यो देशमा भविष्य देख्नै छाडेका छन् । उनीहरुकै शब्द सापटीमा भनौँ– ‘यो देशमा भविष्य छैन ।’ अचेल प्लस टु पास गरेका विद्यार्थीहरुलाई भविष्यमा के गर्ने सोच बनाउनुभएको छ ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको जवाफ आउँछ– ‘उच्च शिक्षाको लागि विदेश जाने तयारीमा छु, उतै सेटल हुन्छु ।’ कन्सल्टेन्सी विदेशी भाषाको रटान गर्नेहरुले भरिभराउ छन् । कुनकुन देशबाट कामदार माग भयो भनेर मेनपावर धाउने युवाहरुको लर्को पनि उत्तिकै छ ।

सक्नेहरु विद्यार्थी भिसामा अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत, जर्मनीलगायतका देश पुग्छन् । कोही कोरिया जान्छन् । त्यहाँ जान नसक्नेहरु दुवई, कतार, मलेसिया । जसरी भए पनि देश छाड्न हतारिएका छन् युवाहरु । किनभने उनीहरुले यो देशमा भविष्य देख्नै छाडेका छन् । यहीँ बस्ने अधिकाशं पछुतो मानेर बसिरहेका हुन्छन् । के–गर्ने होला भन्ने दुविधामा हुन्छन् । जागिर खाउँ राम्रो तलब छैन । त्यसमाथि भन्नेबित्तिकै जागिर पनि पाइँदैन । खेतिपाति गरौँ आयातित वस्तुले बजारको हिस्सा ओगट्दा पसिनाको मूल्य नै पाउन गाह्रो । व्यापार गरौँ डुब्ने हो कि भन्ने चिन्ता । यस्तैयस्तै दोधाराका बीच धेरैको जीवन चलिरहेको हुन्छ ।

यही भिडमा केही यस्ता युवाहरुहरु पनि छन्, जसले देशभित्र केही गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढिरहेका छन् । उद्देश्य लिएर हिँडेपछि गन्तव्यमा पुगिन्छ भन्ने उदाहरण बनेका छन् । आयतामुखी हैन निर्यातमुखी बन्नुपर्छ भनिरहेका छन् ।

भमिसा फुड एण्ड बेभरेजका ३ युवा यसका उदाहरण हुन् । करिब ३ वर्षअघि नेपाली बजारमा ‘एका कम्बुचा’ पस्कन थालेका माइक्रोबायोलोजिस्ट दिव्या महर्जन, फार्मासिस्ट अमित श्रेत्री र मेकानिकल इन्जिनियर संजय श्रेष्ठले गरे के हुँदैन र ? भन्ने कुरालाई व्यवहारमा मात्र उतारेका छैनन्, देशमा भविष्य छैन भनेर परदेशको ढोका ढकढक्याउने लाखौँ युवाको प्रेरणाको स्रोत समेत बनेका छन् ।

यसरी सुरु भयो ‘एका कम्बुचा’

कोरोनाको समय थियो । विश्व नै त्रसित बनेको थियो । के गर्ने, के नगर्ने भन्ने त परकै कुरा मान्छेहरु यतिसम्म त्रासमा थिए कि– मर्छु कि बाँच्छु । सबै फुर्सदिला थिए । मान्छेहरुको दिनचर्या सामाजिक सञ्जाल चलाएर बित्न थाल्यो । यही फुर्सदले यी ३ जना साथीलाई भने उद्यमी बन्ने ढोका खुला भयो ।
गफैगफमा सुरु भएको ‘कम्बुचा कन्सेप्ट’लाई उनीहरुले ‘एका कम्बुचा’को रुपमा ब्राण्ड बनाएका छन् ।

लाजिम्पाटको एउटा सानो कोठाबाट ५ लाख लगानीमा सुरु गरिएको यो व्यवसाय आज फस्टाएर झन्डै दुई करोड पुगिसकेको छ ।

अहिले काठमाडौं जडिबुटीबाट उनीहरुले ‘एका कम्बुचा’ उत्पादन गरिरहेका छन् । कम्बुचा बनाउन यस उद्योगमा अहिले कुल १५ जना कार्यरत छन् । सेल्स बेरी, के–के मार्टलगायत काठमाडौं र पोखराका केही रेस्टुरेन्टहरुमा पाइने उक्त कम्बुचाको बजार मूल्य २५० रुपैयाँ रहेको छ । एका कम्बुचा हाल ३०० मिलिलिटरको सिसाको बोतलमा पाइन्छ।
अमित र सञ्जयले चियागफका बेला कम्बुचा बनाउने योजना बनाएका थिए । कम्बुचाको गुणस्तर परीक्षण गर्न माइक्रोबायोलोजिस्ट आवश्यक पर्ने हुँदा उनीहरुले दिव्यालाई प्रस्ताव गरेका थिए ।

दिव्या भने कम्बुचाको बारेमा अनविज्ञ थिइन् । पछि अध्ययन गरेपछि कम्बुचाको बारेमा उनी जानकार भइन् । त्यसपछि भने उनलाई पनि टिमसँग जोडिएर काम गर्न मन लागेको उनले बताइन् । परीक्षणका लागि दुई लिटर कम्बुचा बनाएका उनीहरुले परीक्षण सफल भएपछि व्यावसायिक रूपमा अघि बढ्ने निष्कर्ष निकालेका थिए ।

के हो कम्बुचा ?

‘कम्बुचा’ ‘फर्मेन्टेसन’ गरिएको कालो चिया हो । शरीरका लागि लाभदायी ब्याक्टेरिया प्रयोग गरेर चियापत्तीबाट कम्बुचा तयार गरिन्छ। कम्बुचा प्रोबायोटिक पेय पदार्थ हो ।

शरीरबाट विषाक्त पदार्थहरू हटाउन तथा पाचन क्षमता र प्रतिरक्षा प्रणाली बढाउन कम्बुचा सेवन गर्ने चलन संसारमै निकै पुरानो मानिछ । यसले उच्च रक्तचाप नियन्त्रणमा राख्न र हृदय रोगबाट बच्न पनि मद्दत गर्ने बताइन्छ । शरीरका लागि लाभदायी ब्याक्टेरिया प्रयोग गरेर चियापत्तीबाट कम्बुचा तयार गरिने दिव्या बताउँछिन् । यसलाई प्याकिङ भएको ६ महिनासम्म प्रयोग गर्न मिल्ने उनी बताउँछिन् ।

एका कम्बुचा विभिन्न ५ स्वादमा उपलब्ध छ । फ्रेसा (स्ट्रबेरी), अनानस (भुइँकटर), ले–मेन्टो (कागती र पुदिना), ब्लु–जिन्जर (अदुवा), केमोमाइल (दामिनी÷तारे फूल) लगायतका स्वादमा उपलब्ध छन्।

तीन साथीले कम्बुचामा मात्रै आफ्नो व्यवसायलाई सीमित राखेका छैनन् । उनीहरुले न्यूट्रासमेटिक इन्ड्रष्ट्रीजबाट ‘स्किन केयर’का सामाग्रीहरु समेत उत्पादन गरिरहेका छन् । जसले नेपालमै पनि उत्पादन सम्भव छ भन्ने कुरालाई प्रमाणित गर्छ ।

माइक्रोबायोलोजिस्ट दिव्याले थेसिसको क्रममा घाउमा लगाउने क्रिमहरु बनाउन थालिन् । त्यहीबेला उनलाई स्किन केयर प्रडक्ट पनि यहीँ उत्पादन गर्न सकिने रहेछ भन्ने लाग्यो । अनि तीन जनाको टिम मिलेर विभिन्न स्किन केयर सामाग्रीहरु उत्पादन गर्न थाले । स्किन केयर अन्तर्गत मोइस्टराइजर, फेस सेरम, क्लिनजर लगायतका सामग्री पाइन्छ । जसमा छालालाई स्वस्थ राख्न मद्दत गर्ने प्राकृतिक जडिबुटीको प्रयोग गरिएको हुन्छ ।

सुरु सुरुमा कठिनाइ भोग्नु परे पनि अहिले भने कामप्रति सन्तुष्टि र आत्मविश्वास झनै बढ्दै गएको दिव्या बताउँछिन् । संघर्ष गरेपछि सफलता पाइने उनी बताउँछिन् । आफूसँग प्यासन भएमा आफ्नै देशमा केही गर्न सकिने उनी बताउँछिन् ।

तीन जना साथीले दुवै व्यवसायलाई हातमा हात र काँधमा काँध मिलाउँदै अगाडि बढेका छन् । यो व्यवसायलाई अझै फराकिलो बनाएर लैजाने क्रममा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *