काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले बीस दिनमै शृंखलाबद्ध रुपमा एकै प्रकृतिका आठवटा चेन स्न्याचिङ गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा प्रयोग भएका २ वटा चोरीकै मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको लिखु- १ दुरागाउँ घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी छन् ।
उनीहरूले लुटेका सुनका सिक्री किन्ने भारत पश्चिम बंगालका ४२ वर्षका श्रीकान्ता माइतीलाई पनि प्रहरीले हिरासतमा लिएको छ । माइतीले असनमा सुन पसल चलाउँथे।
२२ असारमा पक्राउ परेका उनीहरूलाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सुनको सिक्री लुटपाटका मुख्य योजनाकार रविन दमाई भएको कार्यालयका एसएसपी मनोज केसीले जानकारी दिए।
असार १ गतेदेखि २० गतेसम्म उनीहरूले टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटेका थिए ।
उनीहरूले चोरी गरेका गहना तत्कालै गाल्ने र बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का १ थान (११.२ ग्राम), सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका मोटरसाइकल दुईवटा, मोबाइल फोन ६ थान र सुनको नेकलेस एक थान बरामद गरेको छ ।
अर्थ सन्जाल