लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् ।
जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेर स्वदेश पर्किएपछि कप्तान रोहितले दुई खेलाडी इमर्जिङ कप नखेल्ने बताएका हुन् । जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने बताएका हुन्। इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।
ग्लोबल टी-२० क्यानडा लिग जुलाई २० देखि अगष्ट ६ सम्म हुनेछ । जसमा नेपालबाट सन्दीप र दीपेन्द्र छनोट भएका छन् । पहिलो पटक विदेशी लिगका लागि छनोट भएका दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो ।
यसअघि दुई पटक क्यानडामा लिग खेलिसकेका सन्दीप यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन् । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।
इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ ।
नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । नेपालले इमर्जिङ टिम्सको लागि छिटै टोली घोषणा गर्ने क्यानले जनाएको छ ।







