काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले महानगरपालिकाको अनुमतिबिना सार्वजनिक जग्गा लिजमा लिने दिने कार्य नगर्न चेतावनी दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले कानुन प्रतिकूल सरकारी जग्गा लिजमा दिने लिने कार्यको रोकथामसम्बन्धी सूचना जारी गर्दै स्थानीय तह कार्यपालिकाको सिफारिसबिना लिजमा लिनदिन नसक्ने स्मरण गराएका छन् ।
मेयर साहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा (१) ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको रेखदेख तथा संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई तोकेको बताएका छन् । मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (१) बमोजिम जारी भएको सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ ले सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय सहितको सिफारिस भएमा मात्र नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी सरकारी जग्गा लिजमा दिन सक्ने व्यवस्था गरेको मेयर शाहले स्मरण गराएका छन् ।




