काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रेष्ठ र रेग्मीको इजलासमा सुनुवाइ हुन लागेको हो ।
ललिता निवासको जग्गा हिनामिना गरेकाे आरोपमा हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदनमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको हाे ।
उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।
गत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो । उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।




