शंकर र विशाल ग्रुपको द्वन्द्वको चेपुवामा घोराही सिमेन्टका लगानीकर्ता, आईपीओ नै स्थगित गराउनेसम्मको चलखेल

आईपीओ स्थगन हुँदा अर्बौं रकम बन्धक

काठमाडौं । ठूला व्यापारिक घरानाबीचको द्वन्द्वले आम सर्वसाधारणहरु परेका छन् । दुई ठूला व्यापारिक घराना शंकर ग्रुप र विशाल ग्रुपको आन्तरिक द्वन्द्व र अस्वस्थ प्रतिस्पर्धाको होडबाजीमा घोराही सिमेन्टका लगानीकर्ताको अर्बौं रकम बन्धक बनेको छ ।

हालै मात्र विशाल ग्रुपअन्तर्गतको घोराही सिमेन्टमा फर्जी आवेदन परेपछि कम्पनीको आईपीओ नै स्थगन भएको हो  । कम्पनीको आईपीओमा एक करोड २० लाखभन्दा बढी  कित्ताका लागि फर्जी आवेदन परेको थियो । त्यो पनि पैसा नभएको खाताबाट जम्मा १२ जनाले दश दश लाख कित्ताका लागि आवेदन दिएका थिए । यसरी फर्जी आवेदन दिनुमा शंकर ग्रुपको संलग्नता रहेको पाइएको छ  ।

यी दुई घरानाबीच एक अर्काको साख गिराएर आफ्नो समूहलाई अब्बल देखाउन बेलाबेलामा अनेकौं हत्कण्डा अपनाउने र प्रोपोगान्डा गर्ने गरेका यो पहिलो घटना होइन । यसका प्रसस्त उदाहरणहरु भेटिन्छन् ।

घटना नम्बर १

यसअघि २०७६ चैत्र २५ शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका थिए । कोरोनको समयमा नेपाल वायुसेवा निगमको विमान चार्टड गरी ग्वान्जाउबाट २० हजार थान इन्फारेड थर्मल गन र एन ९५ मास्क नेपाल भित्र्याएर कालो बजारी गरेको आरोपमा उनी पक्राउ परेका थिए । विशेष स्रोतका अनुसार उनी पक्राउ पर्नुमा विशाल ग्रुपमा हात रहेको छ । उनले गैरकानुनी तरिकाबाट थर्मल गण भित्र्याउन लागेको सूचना सोही ग्रुपले दिएको स्रोत बताउँछ ।

त्यस्तै,यो घटनाको केही समयपछि फेरि अर्का ठूला घराना विशाल ग्रुपका मालिक रामचन्द्र सांघाइसहित विभिन्न व्यक्तिहरु जुवाको खालबाटै प्रकाउ परे । २०७७ जेठ २० गते  लकडाउनको मौका पारेर जुवा खेलिरहेका ठूला व्यापारिक घरानाका सांघाइसहित अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाई रहेका थिए । साहिल अग्रवालले दिएको सूचनाको आधारमा उनीहरु पक्राउ परेको प्रहरी निकट स्रोतले जानकारी दिएको छ ।

यी २ समूहका मालिकहरु एकपछि अर्को गरी पक्राउ पर्नु र उनीहरु पक्राउ पर्नुको पछाडि एकअर्काको हात रहनुले पनि प्रष्ट हुन्छ कि यी दुई ठूला व्यापारिक घरानाबीच ठूलै द्वन्द्व रहेको छ ।

घटना नम्बर २

त्यस्तै, अर्को घटना हो शंकर ग्रुपले जारी गरेको शिवम् सिमेन्टको आईपीओ । कम्पनीले सर्वसाधारणका लागि  ४६ लाख ९९ हजार ६ सय ४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा ४१ लाख २० हजार कित्ता, मकवानपुरबासिका लागि ५ लाख ७९ हजार ६ सय ४० कित्ता र सामूहिक लगानी कोष एवम शिवम सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता छुट्याइएको थियो । कम्पनीले स्थानीयका लागि प्रतिकित्ता तीन सय र सर्वसाधारणका लागि प्रतिकित्ता चार सय रुपैयाँका दरले आईपीओ जारी गरिएको थियो ।

प्रिमियममा जारी गरिएको उक्त आईपीओ रद्द गर्नका लागि विशाल ग्रुपले राम्रै चलखेल गर्यो ।  उक्त आईपीओ रद्द गर्नको लागि विशाल ग्रुपले नेपाल धितोपत्र बोर्डदेखि राजनीतिक शक्ति केन्द्रसँग समेत लबिङ गर्नसम्म भ्यायो । तर उक्त आईपीओ निष्काशन प्रक्रिया रद्द गर्न सकेन ।

झनै मौलाउँदै प्रतिसोध

व्यापारिक साम्राज्य विस्तारका लागि यी दुई समूहबीच एकअर्काप्रति प्रतिसोध लिने, शाख गिराउन पैसा, पावर र पहुँचको चरम दुरुपयोग गर्ने क्रम त्यतिमै सीमित रहेन ।

पुरानो रिसिबी साँध्दै शंकर ग्रुपले विशाल ग्रुपमाथी अर्को आक्रमण गरेको पाइएको छ । शंकर ग्रुपकै एक कर्मचारीका अनुसार हालै जारी विशाल ग्रुपअन्तर्गतको घोराही सिमेन्टको आईपीओमा शंकर ग्रुपका मालिक साहिल अग्रवालले चलखेल गरेका छन् । घोराही सिमेन्टको आईपीओमा एक करोड २० लाखभन्दा बढी कित्ता फर्जी आवेदनमा शंकर ग्रुपको हात रहेको उनको भनाइ छ ।

त्यस्तै, उक्त आईपीओमा फर्जी आवेदन परेकाहरुमध्ये अधिकाशं घोराही सिमेन्टको आईपीओमा पैसा नभएको खाताबाट फर्जी आवेदन परेको भेटिएपछि हाललाई कम्पनीको आईपीओ निष्काशन प्रक्रिया नै स्थगन भएको छ । हाल यस विषयमा नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ । अनुसन्धान प्रक्रियामा ढिलाई हुँदा लगानीकर्ताको करोडौँ रकम बन्धक बनेको छ । यसो हुँदा नियामक निकायप्रति समेत लगानीकर्ताहरुको विश्वास गुम्दै गएको छ । उनीहरुलाई आफ्नो लगानी डुब्ने हो कि भन्ने चिन्ता बढेको छ । कतिपयले बोर्डकै संलग्नता रहेको आरोप समेत लगाएका छन् ।

यता, बोर्डका अध्यक्ष रमेशकुमार हमालले भने लगानीकर्ताको लगानी सुरक्षित रहेको बताएका छन् । उनले यस विषयमा अनुसन्धान भइरहेको र छिट्टै टुंगोमा पुग्ने बताए ।

पछिल्लो समय नेपालमा ठूला घरानाका रुपमा छवी बनाएका व्यापारी अर्थात् ‘माडवाडी’ समूहले कब्जा जमाएका छन् । बैंक तथा वित्तीय संस्थादेखि ठूला ठूला उद्योगमा उनीहरु नै हाबी छन् । जसका कारण नेपालका स्थानीय व्यापारिक व्यवसाय धरासायी बन्दै गइरहेको जानकारहरु बताउँछन् । हरेक क्षेत्रमा ‘माडवाडी’ समूह नै हावी हुँदा देशको अर्थतन्त्रको ठूलो हिस्सा बाहिरिने र देशमा चरम आर्थिक संकट पैदा हुने स्थिति बढेको विश्लेषकहरु बताउँछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *