काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हनुमानढोका दरबार क्षेत्रमा सवारी आवतजावतमा रोक लगाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी उल्लेख गरेका हुन् ।
महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो । मेयर बालेनले र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन् ।
‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण हो । काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसाकिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन् । यही हेर्न, अनुभव गर्न र रमाउन लाखौं पर्यटकहरू आउन सक्छन्,’ उनले भनेका छन् ।
‘वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौं पर्यटकहरू आउने र लाखौं आउन सक्ने सम्भावना छ । यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरूलाई निषेध गरिएको छ,’ उनले भनेका छन् ।




