सिंगापुरविरुद्ध सानदार जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । सिंगापुरविरुद्ध सानदार जित निकाल्दै नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९८ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो। सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए । कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए । सिंगापुरका अन्य ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । नेपालका ओपनर सुर्यांशु कोइरालाले ४९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४३ रन बनाए । निरज यादवले ४९ बलमा ३ चौकाको सहयोगमा ४२ रन बनाए ।

पहिलो विकेट गुमाए पछि कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट ३ रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भए ।

कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ तथा प्रतिक भट्टराई १२ रनमा आउट भए । दीपु कुमार १२ तथा कृतिक कामत ५ रनमा आउट भए । सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २/२ विकेट लिए ।

जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । अर्को सेमिफाइनलका विजेता मलेसियासँग नेपालले उपाधिका लागि खेल्नेछ ।

पराजित सिंगापुरले भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि मंगलबार नै सिंगापुरले अर्को सेमिफाइनलमा पराजित हङकङसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *