जनमत पार्टीलाई सरकारमा ल्याउन मन्त्री हेरफेरको तयारी

काठमाडाैं । बजेटमा गठबन्धनकै दलहरू असन्तुष्ट भएपछि दबाबमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरमार्फत असन्तुष्टि सम्बोधनको प्रयास थालेका छन् । १० पुसमा प्रधानमन्त्री प्रचण्डले हालसम्म ११ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डले बजेटमा असन्तुष्ट दललाई सरकारमा फर्काउन मन्त्रिपरिषद् हेरफेरको १२औँ कसरत थालेका हुन् । यही वेला अन्य मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुन सक्ने स्रोत बताउँछ । समर्थन गर्ने दलहरू विभिन्न समयमा बाहिरिँदा सरकारको बहुमतको अंकगणित जोखिममा पर्ने डर हुन्छ । प्रधानमन्त्री प्रचण्डले आइतबार बालुवाटारमै बोलाएर जनमतका अध्यक्ष सिके राउतसँग भेट गरी सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

जनमत पार्टीका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहेका वेला प्रधानमन्त्री र राउतबीच भेट भएको हो । सहमतिअनुसार उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा फर्काउन प्रधानमन्त्रीले पहल थालेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आइतबार प्रधानमन्त्रीले राखेको प्रस्तावमा राउत सकारात्मक छन् । ‘प्रधानमन्त्रीले सरकारमा आउन गरेको आग्रहमा राउत सकारात्मक हुनुहुन्छ । मन्त्रालयका विषयमा उहाँको चासो थियो । जवाफमा प्रधानमन्त्रीले गठबन्धनमा रहेका दलहरूबीच छलफल गरेर निर्णय लिन सकिने बताउनुभएको छ,’ आचार्यले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *