भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखाबाट ग्राहकको १३ लाखभन्दा बढी रकम एकाएक गायब भएको छ । जगदम्बा टी प्रोसेसिङ प्रालिको नाममा रहेको एनआईसी बैंकको खाता नम्बर ६७४१४९९५३७५२४००१ बाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ८ सय रुपैयाँ गायब भएको हो ।
‘जगदम्बा टी प्रोसेसिङको नाममा रहेको खाताबाट डिजिटल माध्यम प्रयोग गरेर अनधिकृत रूपमा रकम झिकेको देखिन्छ,’ प्रोसेसिङका सञ्चालक भक्तप्रसाद अधिकारीले भने, ‘आफ्नो खातामा जम्मा रहेको रकम बैंकबाट नै गायब भयो, बैंकमा राख्दा रकम सुरक्षित हुने विश्वास नै अब रहेन ।’
सुरक्षाका लागि बैंक खातामा राखिएको रकम गायब भएको प्रति आपत्ति प्रकट गर्दै अधिकारीले भने, ‘बैंकबाटै रकम गायब भएको घटनाको अनुसन्धान लागि साइवर क्राइम अपराध अन्तर्गत छानबिन गर्न झापा प्रहरी मार्फत सिआईबीमा उजुरी दिएका छौँ ।’
अपराध गर्ने समूहलाई कानुनी कारबाही गर्ने पाटो एउटा भए पनि बैंकमा रहेको रकम गायब भएको विषयको जबाफदेही र जिम्मेवारी स्वयम बैंक सञ्चालकले लिनुपर्ने उनको भनाई छ । ‘जगदम्बाको खातामा न्यूनतम १० हजार हुनुपर्नेमा सो रकम समेत झिकेर केवल खातामा ८ सय ६० रुपैयाँ १८ पैसा मात्र बचत देखिएको छ। यसले पनि बैंक सुरक्षित हुन्छ भन्ने विश्वास गुमेको छ,’ उनले भने । यसो हुनुमा बैंक कर्मचारी र कमजोर बैंक प्रविधिलाई दोष रहेको उनले बताए ।
बैंकबाट लगभग हप्ता दिनको अन्तरालमा पटक पटक गरेर बढीमा ५० हजार र घटीमा एक सय गरी ३० पटक सम्मको प्रयासमा सो रकम झिकेको जगदम्बाको बैंक स्टेटमेन्टबाट देखिन्छ । सामान्यतया एक पटक रकम झिके पछि एकदेखि डेढ मिनेटमा मात्रै अर्को ओटिपि नम्बर आउने भए पनि धेरैजसो ३५ सेकेन्डकै अन्तरमा विभिन्न कम्पनीका नाममा रकम ट्रान्सफर गरेर रकम झिकेको भेटिएको छ ।
रकम झिक्दा मोबाइल बैंकिङ मार्फत म्यासेज आउने गरे पनि यो रकम झिक्दा कम्पनीको आधिकारिक मोबाइलमा कुनै म्यासेज वा सूचना नआएको र एकै पटक हप्ता दिनमा रकम चेक गर्दा मात्रै खाताबाट रकम गायब भएको थाहा पाएको प्रोसेसिङका लेखा कर्मचारी कमल निरौलाले जानकारी दिए ।
अर्थ सन्जाल