काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन् ।
ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो । आफूलाई हातपात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन् । मुद्दाको फाइल हेर्ने क्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ । तामाङको मुखमा चोट देखिएको छ ।
जाहेरीमा उल्लेख भएको घटना विवरण अनुसार ललितपुर जिल्ला अदालत कार्यालय भित्र पेसी लिने दिने फाँटमा काम गरिरहेको समयमा असार १३ गते अन्लाजी ४ः३० बजेको समयमा पेसी लिने फाँटमा अधिवक्ता लामिछानेले जबरजस्ती फाइल लिन खोजेपछि फाइल नदिँदा कर्मचारीमाथि हातपात भएको हो ।
पुनमाया महर्जन वादी र बद्री देशार प्रतिवादी समेत भएको दूषित लिखत निर्णय दर्ता बदर मुद्दामा वारेस रहेका लामिछानेले तारेख लिने क्रममा मिसिल तानी आफैँ कागजातहरू पल्टाई हेर्न थालेकोमा ‘मिसिल नहेर्नुस्, कागजातहरू हराउँछ, अहिले भिडभाड छ तपाईंलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला’ भनेकोमा निजले ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को हो ? तँलाई देखाउँछु’ भन्दै तथानाम अपशब्द बोली मुख छाडी गालीगलौज गरी हातपात गरेको उल्लेख छ ।
ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले लामिछानेलाई पक्राउ गरिएको बताए । उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




