काठमाडौं । निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । गिरीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर उक्त फिल्म निर्माण गर्न लागेका हुन् ।
मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ ।
भदौ अन्त्यदेखि छायांकन सुरु हुने बताइएको यो फिल्मका कलाकार तय गर्न बाँकी छ । अहिले प्रि–प्रोडक्सन र पटकथा लेखनको कार्य भैरहेको छ ।
विनिता फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सहनिर्माता हुन् ।




