जलहरीकाे सुन जोख्न अख्तियार आउने भएपछि खाली गरियाे पशुपति क्षेत्र

काठमाडौं ।  पशुपतिनाथ मन्दिरकाे सुनकाे जलहरी जाेख्न पशुपति प्राङ्गण क्षेत्रलाई खाली गरिएकाे छ । करिब आधा घण्टादेखि मन्दिरकाे प्राङ्गण खाली गरिएकाे हाे । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।

जलहरीको सुन जोख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, जनप्रतिनिधिलगायत आउने भएपछि पशुपति परिसर खाली गरिएको हो ।

आइतबार साँझ ६ बजे सुन जोख्न उक्त टोली आउने भएपछि मन्दिरका चारवटै ढोका बन्द गरिएको छ भने भक्तजनहरूलाई त्यहाँबाट हटाइएको छ। महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विवादबीच पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा एक सय आठ किलो सुनको जलहरी अनावरण गरेकी थिइन्।

करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्।

सुन हिनामिनाको आरोप लागेपछि  कोषका सदस्यसचिव मिलनकुमार थापाले संसदीय समितिमा उक्त आरोप अस्वीकार गर्दै सुन जोख्न अनुरोध गरेका थिए।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो । जलहरी जाेख्नकाे लागि तयारी भइरहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *