काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुन थालेसँगै यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा उछाल आएको छ । आज नेप्से परिसूचक ६२.२१ अंकले बढ्दा नेप्से इन्डेक्स २११७.७३ बिन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले तरलता सहज अवस्थामा रहेको देखाएपछि लगानीकर्ताहरु उत्साहित भएका हुन् । त्यस्तै ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९.६४ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९५.४५ विन्दुमा पुगेको छ ।
आज नेप्से बढेसँगै ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यस दिन २७५ कम्पनीको १ करोड ४७ लाख कित्ता भन्दा बढी सेयर खरिदबिक्री भएको छ ।
शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ इन्स्योरेन्स र सामलिङ पावरको सेयरभाउमा १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, बिपिडब्लु लघुवित्त, सिटी होटेल, शिवम सिमेन्ट, हिमालयन ऊर्जा र नेपाल इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयरभाउमा ९ प्रतिशत बढीले उकालो लागेका छन्।
यो दिन शुभम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।




