काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक भएको बताएका छन् । शुक्रबार परिसंघको २०औँ साधरणसभा उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
अर्थतन्त्रका चुनौतीकाबीच आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने उनले बताए । यसका लागि खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको उनले उल्लेख गरे ।
अग्रवालले जस्तोसुकै परिस्थितिमा पनि निजी क्षेत्रले सरकारलाई सहयोग र सहकार्य गर्दै आएको पनि बताए। लगानीको वातावरणका लागि न्यूनतम १० वर्षसम्म ऐन, कानुन, नीति परिमार्जन हुँदैन भन्ने ग्यारेन्टी सरकारले बनाइदिन सक्नुपर्ने उनको भनाइ छ ।
उद्योगहरुलाई प्रतिस्पर्धी बनाउन नयाँ करहरुलाई भ्याटबाट प्रतिस्थापन गर्दै जाने सोचाइले मूर्त रुप लिन नपाएको पनि अग्रवालले बताए। आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटले केही नयाँ सुधारको संकेत गर्दै निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकको रुपमा स्वीकारेको अग्रवालले बताए ।







