मौद्रिक नीतिमार्फत जोखिम भार ७५ प्रतिशत कायम गर्न नाडाको माग

काठमाडौं । मौद्रिक नीतिमार्फत जोखिम भार ७५ प्रतिशत कायम गर्न नाडाको माग
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत जोखिम भार ७५ प्रतिशत कायम गर्न माग गरेको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार मौद्रिक नीतिका लागि सुझाव पेस गर्दै नाडाले यस्तो माग गरेको हो।

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले गर्भनर अधिकारीलाई सुझाव पेस गरेको हो। सुझावमा हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोमा त्यस व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गर्न माग गरिएको छ।

त्यसैगरी नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशिल बनाउन बैंकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ८० प्रतिशत पुर्याउने व्यवस्था गर्न पनि नाडाले माग गरेको छ।

‘चालु पुँजी कर्जा निर्देशिकामा रहेको व्यवस्थाअनुसार चैत मसान्तसम्म सावा र ब्याज बुझाएका व्यवसायीहरुलाई ब्याज र किस्ता बुझाउने समय थपका लागि गत बजेटमा कुरा आएको छ’, सुझावपत्रमा भनिएको छ, ‘त्यसैले उक्त समयभित्र अर्थात चैतभन्दा अगाडि नै सो सावा र ब्याज तिर्न नसकेका व्यवसायीलाई समेत सो समय थप गरी दिने व्यवस्था गर्दै २ करोडभन्दा माथिको व्यवसायमा कुल कारोबारको २५ प्रतिशतमात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पुनरावलोकन गरिनुपर्छ।’

यसैगरी नाडाले व्यवसायीहरुले डीओ पाएर नामसारी र सवारी साधनहरुको डेलिबरी गरेपछि बैंकहरुले भुक्तानी गर्ने समयावधि तोकिनुपर्ने र यसका लागि हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्थाका लागि नाडाले आग्रह गरेको छ। ‘सुझावहरुको समुचित सम्बोधन भएमा नेपालको अटोमोबाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देशको राजश्वमा पनि पर्नेछ’, सुझावपत्रमा भनिएको छ।

गभर्नर अधिकारसँगको भेटमा नाडाका अध्यक्ष थापाले विगतमा राष्ट्र बैंकले जारी गरेका नीति–निर्देशनहरु आफूहरुका लागि अप्रिय लागेको भए पनि उक्त नीति–निर्देशनहरुका कारण देशको वर्तमान आर्थिक परिदृश्यमा सकारात्मक प्रभाव पार्दै लगेको बताएका थिए।

गर्भनर अधिकारीले नाडाको सुझावप्रति राष्ट्र बैंक सकारात्मक रहेको र आउँदो मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता महसुस गर्ने विश्वास दिलाए।

छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा तथा केन्द्रीय कार्य समिति सदस्य तथा सुदूरपश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएशनका अध्यक्ष पुष्कर ओझासमेतको उपस्थिति थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *