काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ऋणपत्र निष्काशनको अनुमति मागेको हो । बैंकले ‘१० प्रतिशत केबीएलएम डिबेन्चर–२०९०’ जारी गर्न अनुमति मागेको छ।
बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
सेबोनले अनुमति दिएमा कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ । कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ ।
कुमारी बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।




