


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा केही न केही नयाँ र महत्वपूर्ण छ भन्ने कुरा विपक्षी दलका नेताकै टिप्पणीबाट पुष्टि भएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा यसअघि सांसदहरुले बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘विपक्षी दलका नेता केपी शर्मा ओलीले ३ घण्टा लगाएर प्रस्तुत गरिएको बजेटमा झन्डै २ घण्टाको कुरा राख्नुभयो’, उनले भने, ‘यसबाट बजेटमा आएका केही विषय महत्वपूर्ण छ । केही नयाँ कुरा अगाडि ल्याउन कोसिस भएको छ भन्ने पुष्टि भएको छ । होइन भने उहाँले दुई घण्टा यहाँ उभिएर यसलाई समय दिनुहुन्नथ्यो ।’
बजेटमाथिको छलफलमा १५० जना सांसदले धारणा राखेका थिए । उनीहरुले बजेटमा भिजन स्पष्ट नभएको, बजेट समाजवादउन्मुख हुन चुकेको, विभिन्न शीर्षकहरुमा विनियोजना भएका सम्बन्धमा फरक किसिमबाट आउनुपनर्थ्यो भनने कुुरा, आकार ठूलो भएको, राजश्वको लक्ष्य महत्वाकांक्षी भएको, साधारण खर्च घटाउन नसकेको र पुँजीगत खर्च घटेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
यसैगरी प्रभावकारी कार्यान्वयनमा चिन्ता, सांसद क्षेत्र पूर्वधारा विकास कार्यक्रमको औचित्यबारे प्रश्न, गाँजा खेती नै किन भन्नेमा पनि सांसदहरुले प्रश्न उठाएका छन् । करका दररेट, आर्थिक ऐनका बारेमा र विभिन्न उपभोग्य वस्तुमा लागेको करका विषयमा पनि प्रश्न उठेको छ ।

अर्थ सन्जाल