खस्कियाे लगानीकर्ताको मनोबल, ३० प्रतिशतले घट्यो नयाँ कम्पनी दर्ता संख्या

काठमाडौं । आर्थिक गतिविधिमा आएको शिथिलताले निजीक्षेत्रका लगानीकर्ताको मनोबल खस्काएको पाइएको छ ।

पछिल्ला दुई वर्ष लगातार बढेको नयाँ कम्पनी दर्ता चालू आर्थिक वर्षमा उल्लेख्य घटेको तथ्यांकले उद्यमी एवं लगानीकर्ताको मनोबल खस्किएको संकेत गरेको हो ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कम्पनी दर्ता संख्या गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले घटेको हो । लगानीकर्ताको मनोबल खस्किएको, नयाँ योजना बनाए पनि लगानी गर्न पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् । पब्लिक, प्राइभेट कम्पनी दर्ता गर्ने सरकारी अड्डा कम्पनी रजिस्ट्रारको कार्यालयमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १५ हजार १८७ नयाँ कम्पनी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको फागुनसम्ममा २१ हजार ९०२ ओटा नयाँ कम्पनी दर्ता भएका थिए ।

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्लो १० वर्षमा आर्थिक वर्ष २०७०/७१ देखि बढ्दै आएको नयाँ कम्पनी दर्ता आर्थिक वर्ष २०७६/७७ मा भने अघिल्लो वर्षको तुलनामा घटेको थियो । त्यसपछिका दुई वर्ष बढेको कम्पनी दर्ता चालू आर्थिक वर्षमा घटेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीले यो वर्ष कामको चाप घटेको बताएका छन् ।

कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार महेश बरालले यो वर्ष कम्पनी दर्तामा कमी आएको बताए । ‘कार्यालयमा हुने भिडभाड घटेको छ । दर्ता कम हुँदा त्यसपछि हुने काममा पनि स्वत: कमी आएको छ,’ बरालले भने, ‘अहिलेको अर्थतन्त्रको अवस्थाले गर्दा होला नयाँ कम्पनी दर्ताका लागि उत्साह देखिएको छैन ।’
राष्ट्रिय तथ्यांक कार्यालयले वैशाख तेस्रो साता सार्वजनिक गरेको तथ्यांकले समेत अर्थतन्त्रका क्षेत्रमध्ये पाँचओटा (खानी तथा उत्खनन्, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदाम) को वृद्धिदर ऋणात्मक भएको देखाएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयका अर्का एक कर्मचारीले भने, ‘दर्ताका साथै अद्यावधिक गर्ने कार्य पनि घटेको छ भने शेयर लगतको काम ९० प्रतिशतले कम भएको छ ।’ कम्पनी दर्ता गर्दा निश्चित रकम प्रस्ताव गरिएको हुन्छ । त्यो प्रस्तावित रकम शेयर लगत गर्दा भने बैंकमा जम्मा गरेको देखिनुपर्छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *